मुख्य समाचार

मरिण सुनकाेसि डाइभर्सन काे डिपिआर तयार लागत खर्च ७६ अर्ब


सिन्धुली साउन २०गते
सुनकोसी मरिण डाइभर्सनको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएपछि आयोजनाको काम सुरु भएको हो । डीपीआरमा तयार भएअनुसार झन्डै ७६ अर्ब रुपैयाँ लागतमा उक्त आयोजना निर्माण सम्पन्न हुने देखिएको छ ।  आयोजना प्रमुख सुशील आचार्यका अनुसार सुनकोसीको पानी मरिणमा सुरुङमार्फत ल्याएर जलविद्युत् उत्पादनका लागि ४६ अर्ब १९ करोड लाग्ने अनुमान गरिएको छ भने बाँकी संरचना निर्माण गर्नका लागि झन्डै ३० अर्ब लाग्ने प्रारम्भिक प्रतिवेदनमा छ । 


जसबाट २८.६२ मेगावाट विद्युत् उत्पादन हुने जनाइएको छ । आयोजनाको मूल उद्देश्य सिँचाइ सुविधा भए पनि विद्युत्समेत उत्पादन हुने भएकाले यो बहुउद्देश्यीय आयोजनालाई चासोका साथ हेरिएको छ । ‘हाम्रो मूल उद्देश्य सिँचाइ सुविधा नै हो,’ आयोजना प्रमुख आचार्यले भने, ‘सिँचाइका लागि सुनकोसी डाइभर्सन गर्दा विद्युत् उत्पादन हुने हो ।’ सिन्धुलीको सुनकोसी गाउँपालिका–६ को कानढुंग्री नजिक सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध राखी ६७ क्युविक प्रतिसेकेन्ड पानी १३.१किलोमिटर सुरुङको माध्यमबाट कमलामाई नगरपालिका २ को कुसुमटारस्थित मरिन खोलामा खसालिने आयोजनाले जनाएको छ । 


आयोजनाबाट प्रभावित क्षेत्रमा विस्तृत अध्ययन तथा स्थलगत निरीक्षण गर्नुका साथै स्थानीयसँग सार्वजनिक सुनुवाइ भइरहेको आचार्यको भनाइ छ । वर्ष ०७६/७७ को बजेटमा सुनकोसी–मरिन डाइभर्सनको कामका लागि २ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । आयोजनाबाट सुनकोसीको ६७ क्युमेक्स पानी मरिणमा खसाल्ने योजना बनेको छ । त्यसबाट साढे २८ मेगावाट बिजुलीसमेत उत्पादन गर्ने आयोजनाका इन्जिनियर दिलीप विश्वकर्माले बताए । आयोजनाको पावर हाउस कमलामाई २ को कुसुमटार फाँटमै रहने छ ।

No comments