चिनका बादशाहा का प्राचीन बन्दुक लाई २५लाख डलर मा बिक्री
सिन्धुली कात्तिक २६:
ऐतिहासिक चिनियाँ बादशाह किङ्गवंशका क्यानलोङ्गको एउटा प्राचीन बन्दुक लिलाम २५ लाख अमेरिकी डलरमा बिक्री भएको छ । विश्वभरिका पुरातात्त्विक महत्त्वका, अनौठा उत्पादन, सरसामान लिलाम गर्ने बेलायती कम्पनी ‘सुथबाइज लन्डन’ ले लिलामीमा राख्दा निजी क्षेत्रका एकजना एसियाली पारखीले १९ लाख ८५ हजार बेलायती पाउन्ड (२५ लाख अमेरिकी डलर) बोलेको कम्पनीद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
बन्दुक लिलामीमा १० लाखदेखि १५ लाख पाउन्डसम्म उठ्ने अड्कल गरिएकोमा उनले लगभग त्यती नै बढी बोलेका थिए ।  चीनमा सर्वप्रथम बनाइएको भनी दाबी गरिएको उक्त बन्दुक प्राचीन समयको आधुनिक हतियार मानिएको थियो । कलात्मक डिजाइनमा बुट्टा कुँदेर बनाइएको उक्त बन्दुकको कुन्दामा क्यानलोङ्गको शाही निसाना अंकित छ ।
चिनियाँ राजसंस्थाको इतिहासमा सबभन्दा लामो अवधि सन् १७३६ देखि १७९५ करिब ५९ वर्षसम्म अविच्छिन्न राज गरेका क्यानलोङ्ग बादशाहलाई त्यतिखेर ‘स्वर्गका अत्यन्त शक्तिशाली पुत्र’ भन्ने गरिन्थ्यो । क्यानलोङ्ग बादशाह पुरातात्त्विक महत्त्वका, कलात्मक र अनौठा मालसामानका पारखी, सोखिन र संकलक थिए ।
बन्दुक शाही हतियार कारखानामा उनकै लागि बनाइएको थियो । केही वर्षयता विश्वका विशिष्ट खालका धनाढयहरूले चिनियाँ प्राचीन तथा पुरातात्त्विक सामग्रीहरूमा निकै रुचि राखेको पाइएको छ । यस्ता सरसामान हङकङ, लन्डन, न्युयोर्क जहाँसुकै लिलाम गरे पनि धनाढ्य ग्राहक पुग्छन् र भनेजत्ति रकम खन्याउँछन् ।


No comments