मुख्य समाचार

मकवानपुर काे मनहरि गाउँ पालिका लाेकल कुखुरा जाेगाउन बीस लाख बजेट छुटाउदै


सिन्धुली भदौ २९:

मकवानपुरको मनहरी गाउँपालिकाले लोपोन्मुख स्थानीय जात (लोकल) का कुखुराको संरक्षण र प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको छ । हाँडीखोला र मनहरी गाउँपालिका समेटेर बनेको मनहरी गाउँपालिकाले चालू आवको निम्ति २० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।

‘गाउँमा लोकल कुखुरा लोप हुन लागेको त्यसको संरक्षण गर्ने उद्देश्यले गाउँपालिकाले चालू आवमा बजेट छुट्टयाइएको छ,’ गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले भने, ‘लोकल कुखुराको माग व्यापक छ तर लोप हुने अवस्थामा पुगेकाले संरक्षणका लागि बजेट विनियोजन गरेका हौं ।’


गाउँपालिकाले साविकको हाँडीखोला गाविस र मनहरी गाविसका एक/एकवटा युवा स्वरोजगार समूह गठन गरेर स्थानीय जातको कुखुरापालन गर्न रकम उपलब्ध गराउने नीति बनाएको छ । उक्त समूहलाई गाउँपालिकाले उपलब्ध गराउने रकममध्ये केही रकम अनुदानमा दिने अरू रकम किस्ता बन्दी निब्र्याजी ऋण स्वरूप उपलब्ध गराउने कार्यविधि बनाएको छ ।

‘पहिलो वर्ष २ स्थानमा व्यावसायिक ढंगले स्थानीय जातका कुखुरा पालन गर्न अनुदानसहित ऋण उपलब्ध गराउने र दोस्रो वर्षदेखि यो संख्या र बजेट अझ बढाउने छाैं,’ गापाकी उपाध्यक्ष मनिला विष्टले बताइन् ।  मकवानपुरमा स्थानीय जातका तीन किसिमका कुखुरा पाइन्छन् । ‘तीनै थरी कुखुरा लोपोन्मुख अवस्थामा छन्,’ जिल्ला पशुसेवा कार्यालय हेटौंडाका प्रमुख डा.रामप्रकाश प्रधानले भने, ‘मकवानपुरमा स्थानीय जातका कुखुराको संरक्षणलाई प्राथमिकताको सूचीमा राखिएन भने आउँदो पुस्ताले देख्नसमेत पनि पाउँदैनन् ।’

‘जिल्लामा साखिनी, घाँटी खुइले र प्वाँख उल्टे गरी तीन प्रजाति स्थानीय कुखुरा पाइन्छन् । अहिलेसम्म कतैकतै दुर्गम गाउँ र बस्तीमा उक्त प्रजाति कुखुरा पाइन्छन्,’ डा. प्रधानले भने, ‘तिनीहरूको संरक्षण गर्न सकिएन भन केही वर्षभित्रमा नै लोप हुन्छन् ।’ यी जातका कुखुरा र यसका अन्डा पोसिलो मानिन्छ । अहिले बजारमा स्थानीय जातका कुखुरा र त्यसका अन्डाको माग व्यापक छ तर पाउन सकेका छैनन् ।

No comments