जनकपुर मा रेल परिक्षण सफल दाेस्रो चरण मा बर्दिबाँस सम्म अाउने
सिन्धुली असाेज १९:
जनकपुरदेखि भारतको जयपुर जोड्ने रेलवे सेवाको परीक्षण सफल भएको छ । नेपाल र भारतका उच्च अधिकारी तथा प्राविधिकले बिहीबार २९ किमि लिकको सफल यात्रा गरे ।
रेल विभागका डाइरेक्टर जनरल (डीजी) बलराम मिश्र तथा भारतीय राजदूत मञ्जिभ सिंह पुरीको नेतृत्वमा दुवै देशका उच्च अधिकारी तथा प्राविधिकले लिक, पुलपुलेसा परीक्षणसँगै निर्माणाधीन रेलवे स्टेसन, कर्मचारी आवासको स्थलगत निरीक्षण गरेका थिए । राजदूत पुरी जनकपुर नजिकैको प्लेटफर्म पुगेर फर्किएका थिए । अन्य अधिकारी र प्राविधिक जयनगरसम्मै पुगे ।
जनकपुर रेलवे विस्तार तथा स्तरोन्नति परियोजना भारत सरकारको सहयोगमा अघि बढाइएको हो । रेलको लिक तथा पुलपुलेसाको गुणस्तर जाँच्न भारतबाट निर्माण सामग्रीसहितको मालगाडी नियमित नेपाल आउने गरेको छ । भारतीय निर्माण कम्पनी इरकोनका साइट प्रमुख रवि सहायले रेलवे संरचना तथा यात्रीको सुरक्षा जाँच गर्न मालगाडी चलाइएको बताए । १० अर्ब रुपैयाँभन्दा बढीको यो परियोजना आगामी मंसिरसम्म सम्पन्न हुनेमा दुवै देशका प्राविधिक विश्वस्त देखिएका छन् ।
पहिलो चरणमा जयनगर–जनकपुर–कुर्था (३५ किमि) मा रेल कुदाउने तयारी छ । दोस्रो चरणमा कुर्था–भंगहा (१७ किमि) र तेस्रोमा भंगहा–बर्दिबास (१७ किमि) गरी ६९ किमि रेलवे विस्तार तथा स्तरोन्नतिको योजना छ । यी सबै काम तीन वर्षमा पूरा हुने रेलवे कम्पनीका इन्जिनियर विनोद ओझाले दाबी गरे । जयनगर–कुर्था (३५ किमि) लगभग पूरा भइसकेको छ । २९ किमि खण्डमा फलामे रेल लिकसँगै बोल्डर जडान गरिएको छ । यसै साता जनकपुर–कुर्था खण्डमा पनि बोल्डर जडान थालिने प्राविधिकले जनाएका छन् ।
रेल लिकको लेबल मिलाउन बोल्डर प्रयोग गरिन्छ । इन्जिनियर ओझाका अनुसार यस खण्डमा पुल र कल्भर्ट निर्माण पूरा भइसकेको छ । स्टेसन भवन, कर्मचारी आवास, प्लेटफर्म पनि लगभग बनिसके । अहिले जनकपुर, परवाहालगायत स्टेसनमा रङरोगन तथा प्लेटफर्मको फर्स पीसीसी भइरहेको छ । दोस्रो चरणको कुर्था–भंगहा रुटमा पनि काम जारी छ । ‘दोस्रो चरणको काम तीव्र गतिमा हुँदै छ ।
अधिकांश पुल र कल्भर्ट निर्माण भइसके । बाँकी पनि बन्दै छन्,’ ओझाले भने, ‘रेलवे स्टेसन, प्लेटफर्म, कर्मचारी आवास निर्माण अन्तिम चरणमा छ ।’ तेस्रो चरणको भंगहादेखि बर्दिबाससम्म जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले केही ढिलाइ भएको उनले स्विकारे ।


No comments