रूसि राष्ट्रपति लाई नेपाल भ्रमण काे निम्तो
सिन्धुली मङ्सिर १०गते
रूस भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको औपचारिक निमन्त्रणापत्र सोमबार समकक्षी रूसी विदेशमन्त्री सेरग्रे लाभ्रोभलाई उनले हस्तान्तरण गरे । भेटपछि मस्कोस्थित राजदूतावास र परराष्ट्र मन्त्रालयले जारी गरेको छुट्टाछुट्टै विज्ञप्तिमा ज्ञवालीले रूसी प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएको उल्लेख छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको औपचारिक निमन्त्रणापत्र ज्ञवालीले मन्त्री लाभ्रोभलाई हस्तान्तरण गरेका हुन् । ज्ञवालीले समकक्षी लाभ्रोभलाई पनि नेपाल भ्रमणको निम्तो दिएका छन् । दुवैले भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए । दुवै मन्त्रीले दुई मुलुकबीच न्याय, सांसद र व्यापारसहित उच्चस्तरीय भ्रमण हुनुपर्नेमा जोड दिएका थिए । रूसलाई असल मित्रको संज्ञा दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले त्यहाँका व्यवसायीलाई नेपालमा लगानी गर्न पनि आग्रह गरेका थिए ।
रूसी मन्त्री लाभ्रोभले पनि लामो समयपछि भएको भ्रमण महत्त्वपूर्ण रहेको उल्लेख गरे । दुई मुलुकबीचमा लगानी, व्यापार, पर्यटन, शिक्षा, ऊर्जा, पूर्वाधार विकास, संस्कृति र जनस्तरमा सम्बन्ध स्थापना गर्नुपर्नेमा दुवै मन्त्री सहमत भएको मस्कोस्थित राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



No comments