मुख्य समाचार

विपि राजमार्ग काे काभ्रे भञ्ज्याङ बाट राति अाठ बजे सम्म गाडि जान दिने अाज बाट सानाे गाडिकाे टिकट बुकिङ खुल्ला


सिन्धुली असाेज २३:

माइक्रोबस, हाइस र टाटासुमो व्यवसायीले दसैँका यात्रुका लागि मंगलबारबाट अग्रिम टिकट बुकिङ खोल्ने भएका छन् । यातायात व्यवस्था विभागसँग मंगलबार भएको छलफलपछि व्यवसायीले यस्तो सहमति गरेको विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले बताए । ‘मंगलबारबाट अग्रिम टिकट बुकिङ खोल्न व्यवसायी सहमत भएका छन्,’ उपाध्यायले भने ।

व्यवसायीले अग्रिम टिकट बुकिङ नगरेको तथा यात्रुसँग बढी भाडा लिएको विभागसमक्ष स्वीकारसमेत गरेको उनले बताए । ‘काठमाडौं उपत्यकाबाट यात्रु पु-याएर काठमाडौं फर्किंदा रित्तै फर्किनुपरेकाले बढी भाडा लिएको व्यवसायीले स्वीकार गरेका छन्,’ निर्देशक उपाध्यायले भने, ‘अबदेखि बढी भाडा नलिने सहमतिसमेत गरेका छन् ।’ विभाग–व्यवसायीबीच पाँचबुँदे सहमति विभागका महानिर्देशक लावण्यकुमार ढकालको अध्यक्षतामा सोमबार बसेको बैठकमा व्यवसायी र विभागबीच पाँचबुँदे सहमति भएको हो । सहमतिअनुसार सरकारले निर्धारण गरेको दरअनुसारको भाडा मात्र लिने, मंगलबारबाट टिकट बुकिङ खोल्ने, माइक्रोबस, हाइस र टाटासुमोका टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र लगाउने, बिचौलियाको प्रवेश हुन नदिई आधिकारिक व्यक्तिले मात्र टिकट बिक्री गर्ने, सबै यातायात सेवाको सञ्चालन रुट र सवारीको विवरण तुरुन्त विभागमा उपलब्ध गराउने सहमति गरेको छ ।


त्यस्तै, बिपी राजमार्ग (बनेपा–बर्दिवास) भएर चल्ने सवारीसाधनलाई २४ असोजदेखि ७ कात्तिकसम्म काभ्रेभन्ज्याङबाट राति ८ बजेसम्म जान दिने सहमति भएको छ । भिमानबाट राजधानी आउने सवारीसाधनलाई १२ बजेसम्म सञ्चालन हुन दिन र मालवाहक सवारीसाधनलाई काभ्रेभन्ज्याङबाट ९ बजेपछि चल्न दिन ट्राफिक प्रहरीलाई अनुरोध गर्नेसमेत बैठकले सहमति गरेको उनले बताए । माइक्रोबस, हाइस र टाटासुमोको सेवाबारे विभागमा गुनासो बढ्दै गएपछि विभागले व्यवसायीलाई बोलाएर छालफल गरेको हो ।

No comments