राउटे बस्ती मा सहभाेज काे अायाेजना
सिन्धुली पाैष २३:
राउटे समुदायको सामाजिकीकरण अभियानअन्तर्गत राउटे बस्तीमा सहभोज गरिएको छ । सुर्खेतको लेकबेसी नगरपालिका– १ लेकफर्सा रातेखोलास्थित राउटे बस्तीमा सहभोज गरिएको हो । प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न जङ्गलमा बस्दै आएको राउटे समुदायको सामाजिकीकरण अभियानका क्रममा सहभोज गरिएको हो ।
सो सहभोजको आयोजना कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले गरेको हो । सहभोजमा राउटेसँगै अन्य समुदायका बासिन्दा सहभागी थिए । राउटको सीप र संस्कृति संरक्षणसहितको सामाजिकीकरण गर्न प्रदेश सरकारले अभियान थालेको मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले जानकारी दिइन् । ‘राउटे बस्तीमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरेका छौँ,’ उनले भनिन् ।
चिसो बढेपछि राउटे बालबालिका र वृद्धवृद्धामा विभिन्न समस्या देखिएको स्वास्थ्य परीक्षणमा संलग्न कर्णाली प्रदेश अस्पतालका मेडिकल अधिकृत डा लोकेन्द्र थापाले बताए । बस्तीमा हरेक साता विशेषज्ञ चिकित्सकले राउटेको स्वास्थ्य परीक्षण गर्ने उनले जानकारी दिए । मन्त्रालयले राउटे बस्तीमा तीन सोलारसमेत जडान गरेको छ । उनीहरुलाई न्यानो लुगा पनि वितरण गरिएको छ ।
यसैबीच दैलेखको गुराँस गाउँपालिकाले राउटे बस्तीमा पुगेर पुस महिनाको भत्ता वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष खेमराज ओलीका अनुसार समुदायका एक सय ४५ जनालाई रु दुई हजारका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । राउटेलाई सामाजिक मूल प्रवाहीकरणमा ल्याउन अभियान थालिएको मन्त्रालयका सचिव डा मानबहादुर विकले बताए ।
उक्त अभियान बेसी नगरपालिका, गुराँस गाउँपालिका, सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख र लोपोन्मुख राउटे सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालको समन्वय र सहकार्यमा गरिएको हो । (रासस)


No comments