मुख्य समाचार

साउन १गते बाट जिल्ला काे एक दर्जन कार्यालय खारेज


सिन्धुली साउन १:

अहिले जिल्लामा धेरै कार्यालयहरु मंगलबारदेखि खारेज भएका छन् । संवैधानिक व्यवस्था तथा स्थानीय शासन सञ्चालन कानुन अनुसार अहिले जिल्लामा रहेका डेढ दर्जन कार्यालय एकैपटक खारेजीमा परेका हुन् । खारेजीमा परेका प्रायः कार्यालय जिल्लाबाट स्थानीय तह मातहतमा पुगेका छन् ।
संघ, प्रदेश र स्थानीय तह मातहतमा रहने कार्यालयको वर्गीकरण यसअघि नै सकिए पनि कार्यान्वयनमा आएको थिएन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १ गते अर्थात मंगबारदेखि लागु हुने गरी कार्यालय स्थानीय तहलाई हस्तान्तरण तथा खारेजीको जानकारी जिल्लाहरुमा परिपत्र गरेको हो । जिल्लाबाट स्थानीय तहमा पुगेका कार्यलयको सेवा अब स्थानीय तहबाटै पाइने छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र अनुसार जिल्लामा रहेका शिक्षा, आधारभूत स्वास्थ्य, कृषि, पशु, खानेपानी, वन, सडक, मालपोत र स्थानीय खेलकुद कार्यालयहरू समेत स्थानीय तहमा हस्तान्तरण भएका छन् ।


जिल्लामा रहेको दैनिक सेवा प्रवाहका विषयगत कार्यालय औपचारिक रूपमा स्थानीय तहमा हस्तान्तरण भएका हुन् । स्थानीय तहले मन्त्रालयको परिपत्र अनुसार सम्बन्धित तहमा खारेज भएका कार्यालयका शाखा चाँडोभन्दा चाँडो व्यवस्थित गर्नु पर्नेछ । संविधान तथा स्थानीय शासन सञ्चालन ऐनले तीन तहको संरचनामा अधिकारक्षेत्र र कार्यालय व्यवस्थापन स्पष्ट तोके अनुसार गएको चैत २८ भित्र नै कार्यालय हस्तान्तरण हुनुपर्ने भए पनि भएको थिएन । कार्यालय हस्तान्तरण नहुँदा स्थानीय तहबाट पाउने सेवाका लागि पनि सर्वसाधारणले अझै पनि सदरमुकाम धाउनु पर्ने बाध्यता थियो ।


नयाँ व्यवस्था अनुसार संघको मातहतमा अब ठूला परियोजनासँगै, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला अदालत, कोष तथा लेखा नियन्त्रकको कार्यालय रहने छन् । अहिलेका स्वास्थ्य, क्षेत्रीय शिक्षा निर्देशनालय, कृषि, डिभिजन सडक, डिभिजन सहकारी कार्यालयहरू प्रदेश मातहत रहने छन् ।
स्थानीय तहमा घरेलु तथा साना उद्योग, मालपोत, नापी, महिला बालबालिका, जल उत्पन्न प्रकोप नियन्त्रण लगायतका कार्यालय रहनेछन् । स्थानीय तहमा शिक्षा, आधारभूत स्वास्थ्य, हाल जिल्लामा कायम रहेका विभिन्न प्राविधिक कार्यालय, सहकारी तथा सहरी विकासका जिल्ला कार्यालयहरू पनि स्थानीय तहमा हस्तान्तरण भएका हुन् ।

No comments