बेपत्ता भयकाे ४६बर्ष पछि घर फर्के
सिन्धुली साउन१४:
लमजुङको बेसीसहर–२ भकुन्डे खत्रीगाउँका प्रेमबहादुर खडका बेपत्ता भएको ४६ वर्षपछि घर फर्केका छन् । मजदुरी गर्न बाल्यकालमै भारत गएका उनी २४ वर्षको उमेरमा घर आएका थिए ।
त्यसपछि पुन: भारत गएपछि बेपत्ता भएका थिए । भारत मेघालयस्थित गाई फार्ममा काम गरेका उनी ७० वर्षको बुढ्यौली उमेरमा शुक्रबार गाउँ फर्किएका हुन् । भकुन्डे क्षेत्रमा बसबाट ओर्लिएर उनी सोधखोज गर्दै गाउँसम्म आइपुगे । ‘खडका गाउँ आउँदा बूढापाकाले ढिला गरी चिने,’ उनका छिमेकी पत्रकार महासंघ लमजुङका पूर्वअध्यक्ष कृष्ण केसीले भने, ‘उनले पनि केही बूढापाकालाई सम्झिएका रहेछन् ।’
केसीका अनुसार प्रेमबहादुर अहिले असहज अवस्थामा छन् । ‘बाँचेर गाउँ फर्किन्छु जस्तो सोचेको थिइनँ । जन्मभूमिमा फर्कन मलाई भगवानले बचायो,’ खडकाले मसिनो गरी हिन्दी लवजमा नेपाली बोल्दै भने, ‘सबैसँग भेट भयो । खुसी लाग्यो ।’ प्रेमबहादुरसँग नेपाली नागरिकता छैन । उनको नजिकका आफन्त पनि छैनन् । बुवाआमाको नागरिकता थियो/थिएन भन्नेबारे पनि उनलाई थाहा छैन । प्रेमबहादुरका अर्को आमापट्टिका सन्तानको भने नागरिकता छ ।
७० वर्ष पुगेपछि भत्ता पाइन्छ भन्दा उनले नागरिकता लिन मन गरेको केसीले बताए । २००४ वैशाख १४ गते आफ्नो जन्ममिति भएको बताउने प्रेमबहादुर बाल्यकालमै मजदुरी गर्न भारत गएका थिए । २०२८ मा बुवा चन्द्रबहादुरको निधन हुँदा उनी काजकिरियाका लागि आएर १४ दिन घर बसेका थिए । त्यसपछि पुन: भारत गएका उनी बल्ल गाउँ आएका हुन् ।
बुवा बितेपछि आमा पनि अन्यत्र विवाह गरेर गएको बताउने प्रेमबहादुर अहिले कान्छी आमापट्टिका छोरा अर्थात् भाइ तिलकबहादुर खडकाको परिवारसँग बसेका छन् । प्रेमबहादुर अझै अविवाहित छन् ।
प्रेमबहादुर घर फर्केपछि तिलकबहादुर पनि खुसी छन् । ‘कुखुराको एउटा चल्लाको त कति माया लाग्छ भने मानिसको माया किन नलाग्नु । झन् आफ्नै दाइको माया नलाग्ने कुरा भएन,’ उनले भने, ‘पहिले त हैन जस्तो लागेको थियो । पछि सम्झिँदै ल्याउँदा आफ्नै दाइ रहेछन् । सँगै खाना खुवाएर दु:खसुखको भलाकुसारी गर्दैछु ।’


No comments