मुख्य समाचार

प्रचण्ड परिवार प्रकास स्मृति सम्जभावविह्वल

सिन्धुली मङ्सिर ४:
नेकपा अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहाल र छोरी ज्ञानु दाहालको नाममा ‘प्रज्ञा स्मृति प्रतिष्ठान’ स्थापना भएको छ । पुत्र प्रकाशको निधनको पहिलो वार्षिकीमा आयोजित स्मृति सभामा अध्यक्ष दाहालले छोरा र छोरीको नाममा प्रतिष्ठान खोल्ने जानकारी दिएका हुन् ।

प्रकाशको गत वर्ष हृदयाघातका कारण निधन भएको थियो । ज्ञानुको क्यान्सरका कारण निधन भएको थियो । प्रतिष्ठानले शिक्षा, स्वास्थ्य र अनुसन्धानको क्षेत्रमा काम गर्ने बताइएको छ ।  प्रकाशको पहिलो वार्षिकीका अवसरमा सोमबार दाहाल निवास खुमलटारमा स्मृति सभा आयोजना गरिएको थियो ।

स्मृति सभामा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा, प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल र लोकेन्द्रबहादुर चन्द, विभिन्न दलका नेता र सांसद मन्त्रीहरू पुगेका थिए । सभालाई प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओलीले प्रकाश दाहाल मिलनसार र व्यावहारिक युवा भएको बताए । ‘महत्त्वपूर्ण व्यक्तिको सचिवालयको जिम्मेवारी लिएर त्यसलाई कुशलतापूर्वक व्यवस्थापन गर्नु सजिलो छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘विभिन्न मानिसका विभिन्न माग, आक्रोश सुनेर त्यसको निरूपण पनि गरिदिनुपर्ने हुन्छ ।

त्यस जिम्मेवारीलाई प्रकाशले कुशलतापूवर्क व्यवस्थापन गरेका थिए ।’ प्रधानमन्त्री ओलीले प्रकाशको असामयिक निधनले प्रचण्ड परिवार, पार्टी र राष्ट्रलाई नै क्षति पुगेको बताए । ‘उमेर, अपेक्षा र समय बाँकी हुँदै भएको निधन धेरै पीडादायी हुन्छ । प्रकाशको निधन त्यस्तै भयो,’ ओलीले भने, ‘तर शोकको घडीमा पनि परिवारले गरेको धैर्य अनुकरणीय छ ।’ कार्यक्रममा प्रकाशको स्मृतिमा प्रकाशित प्रकाश दाहाल स्मारिका उपराष्ट्रपति पुन, प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले संयुक्त रूपमा विमोचन गरेका थिए ।

No comments