मुख्य समाचार

२२हजार अस्थायी शिक्षक ले लिखित परिक्षा दियकाे मा ८हजार शिक्षक फेल फेल हुने शिक्षक लाई केही सुविधा दियर विदा गर्दै


सिन्धुली पाैष २५ गते
शिक्षक सेवा आयोगको परीक्षामा सहभागीमध्ये झन्डै एक तिहाइ अस्थायी शिक्षक फेल भएका छन् । आन्तरिक प्रतिस्पर्धाको परीक्षा दिएका २२ हजार २ सय शिक्षकमध्ये करिब ८ हजार लिखित परीक्षामा अनुत्तीर्ण भएका हुन् । उनीहरूले पास हुन चाहिने न्यूनतम ४० अंक पनि ल्याउन सकेनन् । शिक्षा मन्त्रालयले अस्थायी शिक्षकलाई स्थायी गर्न ऐन संशोधन गरी आन्तरिक परीक्षा लिएको थियो ।

कतिपय शिक्षक अनुत्तीर्ण हुने डरले प्रतिस्पर्धामै सहभागी भएनन् । आयोगले लिने अन्तर्वार्तामा अझै करिब १ हजार शिक्षक छाँटिने निश्चित छ । आयोगले ९ प्रकारको विज्ञापन गरेकामा कुनैमा मागभन्दा बढीले लिखित पास गरेका छन् । । आयोगले २२ हजार ७६ पदका लागि आन्तरिकतर्फ विज्ञापन गरेकामा २३ हजार ३ सयले आवेदन दिएका थिए ।

तीमध्ये २२ हजार २ सयले मात्र परीक्षा दिएका हुन् । परीक्षामा २०४९ पुसभन्दा पहिले, २०४९ पुसपछि २०६१ साउनसम्म र २०६१ साउनयता नियुक्त भएका शिक्षकलाई सहभागी गराइएको थियो । २०६१ अघिको हकमा प्रकाशित विज्ञापनमा अधिकांश शिक्षक प्रतिस्पर्धाबिनै (पास अंक ल्याएर) स्थायी हुने भएका हुन् । ती विज्ञापनमा माग संख्याभन्दा आवेदन दिन पाउने शिक्षकको संख्या थोरै थियो ।

लिखित परीक्षामा उत्तीर्ण शिक्षकहरूको अन्तर्वार्ता माघ मसान्तसम्म सकिने आयोगका प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाले जनाए । लिखित परीक्षा वा अन्तर्वार्तामा अनुत्तीर्ण हुने र परीक्षामै सहभागी नहुने गरी ९ हजारभन्दा बढी शिक्षक अब सुविधासहित घर जाने भएका छन् । ऐनले परीक्षामा भाग नलिने र फेल हुने शिक्षकलाई सुविधासहित बिदाई गर्ने व्यवस्था गरेको छ । दरबन्दीअनुसार अस्थायी शिक्षकबाट पदपूर्ति नहुने भएपछि आयोगले खुलातर्फ ४ हजार ५ सय पद थपिने जनाएको छ ।

हरेक वर्ष रिक्त ३ हजार दरबन्दीसमेत तत्काल ७ हजार ५ सय शिक्षकका लागि खुला विज्ञापन गरिने थपलियाले बताए । आन्तरिकमा दरखास्त नपरेका २ हजार ५ सय अस्थायी दरबन्दीलाई यसअघि नै खुलामा रूपान्तण गरिसकिएको छ । सुविधा नपाउँदा र अर्का शिक्षकको व्यवस्था पनि नहुँदा परीक्षामा फेल भएका शिक्षकले पढाइरहेका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अन्तिम नतिजा नआउँदासम्म उनीहरूलाई अध्यापन गराइराख्न सर्कुलर गरेको छ । असफल शिक्षकलाई बिदाइ गर्न विवरण संकलन भइरहेको शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले जनाए ।

उनीहरूलाई बिदाइ गरेलगत्तै सट्टामा करारमा शिक्षक नियुक्त गर्नेबारे छलफल भइरहेको उनले जनाए । ‘असफल हुने शिक्षकलाई सुविधासहित बिदाइ गर्न ६ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरेका थियौं,’ उनले भने, ‘अनुत्तीर्ण हुनेको संख्या बढेकाले ८ अर्ब चाहिने आकलन गरेका छौं ।’

No comments