फास्ट ट्रयाक काे रूख काटने काम अन्तिम चरण
सिन्धुली असार २१:
काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण जिम्मा लिएको नेपाली सेनाले आवश्यक रूख कटान अन्तिम चरणमा पुर्याएको छ । सानाठूला गरी १ लाख ११ हजारभन्दा बढी रूख काटिसकेको सेनाले अब ३ हजारजति मात्र काट्न बाँकी छ ।
यद्यपि वर्षामा खोला बढेकाले केही समयलाई कटान रोकिएको छ । ‘खोला घट्नेबित्तिकै कटान गरिसक्छौं, बकैया र त्यस वरिपरिका खोला बढेकाले समस्या भएको हो,’ सहायक आयोजना प्रमुख एवं नेपाली सेनाका उपरथी भरतबहादुर खडकाले भने । अब मकवानपुरको बकैया गाउँपालिकाको अँधेरी क्षेत्रका रूख कटान गर्न बाँकी छ ।
कटान गरिएका रूख सेनाले सम्बन्धित सामुदायिक वन उपभोक्ता समिति र जिल्ला वनलाई बुझाउने गरेको छ । बाराको निजगढबाट गत मंसिर २७ गते रूख कटान थालिएको थियो । ‘सेनाले कटानसँगै घाटगद्दी पनि राम्रोसँग गरेकाले केही समस्या आएन,’ जिल्ला वन कार्यालयका प्रमुख प्रह्लाद धितालले भने । सबैभन्दा बढी रूख कटान मकवानपुर क्षेत्रमै भएको छ । रूख काट्न सुरुमा २ सय ६५ सैनिक खटिएकामा पछि करिब ५ सय जनालाई खटाइएको थियो ।
सेनाले फास्ट ट्रयाक फिलिङ र चौडा बनाउने काम पनि सँगसँगै गरिरहेको छ । कतिपय काम ठेकेदारमार्फत गराइएको छ । यसका लागि दुई दर्जन निर्माण कम्पनीलाई जिम्मेवारी दिइएको छ । ‘२२ वटा निर्माण कम्पनीले डोजर, एक्साभेटर लगाएर फिलिङ र जमिन कटान गरिरहेका छन्,’ सहायक आयोजना प्रमुख खड्काले भने, ‘काम तीव्र गतिमा भइरहेको छ ।’ निजी निर्माण कम्पनीका ४ सयभन्दा बढी डोजर र लोडरसहित सेनाका ४९ वटा एक्जाभेटर प्रयोगमा ल्याइएका छन् ।
सेनाले निजगढ, राजदमार, बुदुने, लेनडाँडा, महादेवटार, सिस्नेरी, डुकुछापलगायत ९ स्थानमा अस्थायी क्याम्प बनाएर फास्ट ट्रयाक फिलिङ र चौडा गरिररहेको छ । तर, ऐन–कानुनको प्रक्रिया लामो भएकाले छिटो छरितो काम गर्न कहिलकाहीं समस्या देखापर्ने गरेको सेनाले जनाएको छ । अहिले सिस्नेरीका दोभान, भक्कुबेंसी, लेनडाँडा, बुदुने, वागदेव ठिंगन, राजदमार, निजगढ र अधेरीमा गरी ९ स्थानमा सेनाका शिविर छन् । निर्माणमा ९ सयभन्दा बढी सैनिक परिचालन गरिएका छन् ।
हरेक शिविरमा एक सय हाराहारी सैनिक छन् । समथर क्षेत्रमा २५ मिटर (पिच हुने भाग) र उच्च पहाडी क्षेत्रमा २३ मिटर चौडा रहने फास्ट ट्रयाक चार लेनको हुनेछ । हरेक सैन्य शिविरलाई ७/८ किलोमिटर हेर्ने गरी व्यवस्थापनको जिम्मेवारी दिइएको छ । पुल र सुरुङका लागि अन्तर्राष्ट्रिय रूपमा टेन्डर गरिएको छ । टेन्डर स्वीकृत हुन बाँकी छ । फास्ट ट्रयाकअन्तर्गत काठमाडौंमा ४ दशमलव ९, ललितपुरमा ७ दशमलव ९, मकवानपुरमा ५६ दशमलव ७ र बारामा ७ दशमलव ६ किलोमिटर पर्छ ।
सरकारले चार वर्षभित्र काम सक्ने गरी सेनालाई जिम्मा दिएको हो । कालोपत्रेका लागि आवश्यक थ्री फेज लाइन विस्तारको तयारी पनि अगाडि बढाइएको छ । क्रसर प्लान्ट र अलकत्रा प्लान्टका लागि बढी क्षमताको विद्युत् आवश्यक पर्ने आयोजनाले जनाएको छ । अहिले २५ मिटरको चौडाइमा पिच गरिने फास्ट ट्रयाकको कुल चौडाइ सय मिटर हुनेछ । आयोजना सम्पन्न भएपछि मुलुककै आर्थिक, सामाजिक र व्यापारमा वृद्धि हुने अपेक्षा गरिएको छ । साथै वार्षिक १० अर्बको इन्धन वचत हुनेछ ।



No comments