सिन्धुली गढि मा अङ्ग्रे ज लाई यसरी हरायका थिए
सिन्धुली भदौ
सिन्धुलीको इतिहास धार्मिक र पुरातात्विक महत्व रहेको विदेह राज्यसँग जोडिएर हेरिन्छ, जसको वर्णन याज्ञवल्क्यको स्मृति ग्रन्थमा भेटिन्छ । याज्ञवल्क्य जो एक ऋषि तथा दार्शनिक थिए । र, उनले राजा जनकलाई ब्रम्हविद्या सिकाएका थिए । याज्ञवल्क्यको स्मृति ग्रन्थअनुसार याज्ञवल्क्यले सिन्धुलीमा तप ध्यान गरेका थिए । एकातिर विदेहसँगको ऐतिहासिक सम्पर्क रहेको सिन्धुलीमा विभिन्न राज्यहरूले वेलावेलामा आक्रमण गरेको पनि इतिहास छ । वि.सं. १७३८ मा सिन्धुली मकवानपुर राज्यको एक हिस्सा थियो, जसका राजा माणिक सेन थिए । त्यही समयमा पूर्वतर्फ कमला पारी मान्धाता सेनको राज्य थियो । दुवैका बीचमा राम्रो सम्बन्ध थिएन, यता कान्तिपुरतिरका राजाको पनि सिन्धुली माथि नजर थियो र राजा पार्थिवेन्द्र मल्लले सिन्धुलीलाई जितेका पनि थिए ।
यसपछिको समयमा पनि सिन्धुलीगढीमा लडाईं आक्रमण भएको इतिहास छ । यसै युद्ध र संघर्षको इतिहास केलाएर हेर्दा, झन्डै २५०–२६० वर्ष पहिले नेपालले, तत्कालीन विश्वकै सबैभन्दा शक्तिशाली ब्रिटिस सेनालाई पराजित गरी एक नयाँ इतिहास बनाएको थियो । नोभेम्बर १७६७ को दोस्रो सातातिर, कप्तान जर्ज किन्लोकको नेतृत्वमा आएको बलियो इस्टइन्डिया कम्पनीको सेनालाई सिन्धुलीको पौवागढी नजिक नेपाली सेनाले हराएको थियो । यस युद्धमा विदेशी सेनातर्फ ठूलो क्षति भएको थियो ।
विभिन्न हतियारहरूजस्तै तोप र बन्दुकहरूले सुसज्जित ब्रिटिस सेनालाई गोर्खालीहरूको खुकुरी, भाला, खड्ग, तीर, ढुंगाको जुक्तिले जितेको थियो । पृथ्वीनारायण शाह र उनका सेनापति अनि सैनिकले विभिन्न जुक्ति र तजबिज लगाई यो युद्धमा जित हासिल गरेर, नेपाललाई पनि ब्रिटिस राज्यको अंग बनाउने सपना चकनाचुर पारेका थिए । त्यसवेला गोर्खालीहरूका सामु आफूभन्दा धेरै शक्तिशाली सेनालाई हराउनु ठूलो चुनौती नै थियो । नेपाली सेनामा सिकारी सरदार बंसु गुरुङ, खजान्ची वीरभद्र उपाध्याय (सापकोटा), काजी बंशराज पाण्डे र श्रीहर्ष पन्थ मोर्चाको अग्र पंक्तिमा थिए । काजी बंशराज पाण्डे कालु पाण्डेका छोरा थिए ।
युद्धको तैयारी क्रममा गोर्खाली सेनाले जनकपुरदेखि सिन्धुलीको बाटोमा आफ्ना गुप्तचर र अन्य कर्मचारीहरू विभिन्न वेशभूषामा खटाएका थिए । जनकपुरदेखि सिन्धुलीगढीसम्म पुग्दा बाटामा ब्रिटिस सेनाले अन्नपात केही पनि नपाओस् भन्ने व्यवस्था पनि मिलाइएको थियो । गोर्खाली सेनाले अंग्रेजहरू आउनुभन्दा अघि नै जनकपुर पुगेर, रासन इत्यादि लुकाउन आग्रह गरेका थिए । अंग्रेजका तर्फबाट व्यवस्थापन मिलाउन आएका कर्मचारीहरूले, कप्तान जर्ज किन्लोकलाई जनकपुरमा दानदेव चौधरीमार्फत रासन इत्यादिको सम्पूर्ण व्यवस्था मिलाइएको छ, भनिएको थियो ।
तर, जनकपुर पुग्दा दानदेव चौधरीलाई नभेट्दा ब्रिटिस सेना भोकभोकै सिन्धुलीतर्फ प्रस्थान गरेका थिए । यसरी सुनियोजित रूपमा, अंग्रेजहरूलाई भोकै सिन्धुलीतर्फ पुर्याउन मद्दत गर्ने दानदेव चौधरी पनि एक ऐतिहासिक पात्र हुन् । यता सिन्धुली पुग्दा पनि, मानव बस्तीहरू रित्ता देखेर अंग्रेजहरूले गोर्खालीहरू डरले भागे भन्ने अड्कल निकालेका थिए, जुन तीनका लागि घातक सिद्ध भयो । युद्ध जित्नका लागि आशिर्वाद पाउन भन्दै, ढुंग्रेवासमा माता मनकामना कि बहिनी भद्रकालीको मन्दिर स्थापना गरिएको थियो । ५०० सैनिकसहित वीरभद्र र बंशु गुरुङलाई पौवागढीमा खटाइएको थियो ।
७०० सैनिकसहित वंशराज पाण्डे र श्रीहर्ष पन्थ ढुंग्रेवासमा तैनाथ थिए । अर्को नाका हरिहरपुरगढी मकवानपुरमा ३०० सैनिक, किन्लोकले यात्राको बाटो परिवर्तन गरी वाग्मती नदी किनार (हरिहरपुरगढी) पनौती हुँदै काठमाडाैँतिर आउँछन् कि भन्दै खटाइएको थियो । यसरी थोरै सैनिक हुँदा पनि गोर्खाली सेना बुलन्द हौसलाका साथ युद्ध मैदानमा उत्रिएका थिए भन्न सकिन्छ । यता आफ्ना सैनिकहरू भोकै नपरून् भनेर नेपाली सेनाका अगुवाहरूले सजिलै बोक्न सकिने खट्टे, सातु, सख्खर, मालपुवाको व्यवस्था मिलाएका थिए ।
यसरी दुस्मनको सेनालाई खानै नपाउने बन्दोबस्ती र आफ्ना सेनालाई उचित मात्रामा माथि उल्लेखित रासनहरूको जगेर्ना गर्न सक्नु पनि तत्कालीन सेनाका अगुवाहरूको बुद्धिमत्तापूर्ण कार्य थियो । यसै सन्दर्भमा युद्धपछि फर्किन बाध्य भएका कप्तान किन्लोकले ‘हामीसँग खान केही थिएन, ३० घन्टासम्म भोको बस्नुपरेपछि एकजना सैनिकसँगै एक गाँस खाना माग्न म बाध्य भएँ’ भनेर ‘एक्स्पिडिसन टु नेपाल भ्याली’ र ‘द जरनल अफ क्याप्टेन किन्लोक’ भन्ने पुस्तकमा लेखिएको छ ।
१७६७ को नोभेम्बर महिनामा थाकेका, भोका, केही मलेरियाले ग्रस्त ब्रिटिस सैनिकहरू सिन्धुलीमाढी पुगे । पूरै सिन्धुली गर्खाको बस्ती शून्य पारिएको थियो । सिउरेनीतर्फ शिकारी सरदार वंशु गुरुङ पछाडिबाट आक्रमण गर्न तम्तयार भएर बसेका थिए । सिउरेनीदेखि पौवागढीसम्मको ठाडो उकालोमा पनि सानो अप्ठेरो बाटो मात्र रहेको थियो । बाटोको दुवैतर्फ अल्लोका घना बोटहरू थिए, किरा फट्यांग्रालगायत नानाथरी कीटहरूले पनि अंग्रेजहरूलाई नराम्रो दुःख दिइरहेका थिए । हार्डी नामका ब्रिटिस अफिसर पछिपछि भारतीय भरिया लगाई अग्र पंक्तिमा थिए ।
जसै अंग्रेज फौजले पौवागढी टेक्यो, हुरी बतासजस्तै गरी वंशु गुरुङको गोर्खाली फौजले आक्रमण थालिहाल्यो । यस्तो हमलाको अपेक्षा नगरेका कतिपय सैनिकहरू हतियार फाल्दै तल समतल भूभागतर्फ भाग्न थाले । माथिबाट गोर्खाली सैनिकहरूले गुडाएर फालेका ढुंगाहरूले पनि कैयौँ हताहत भए, झन्डै १६०० विदेशी सैनिकहरूले घना जंगल र सिन्धुलीको धरतीमा अन्तिम सास फेरे । हतास किल्नोक पनि यो युद्ध जितिन्न भन्ने ठानेर हरिहरपुरगढीतर्फ फर्किन थाले ।
हरिहरपुरगढी ८०० सैनिक उनलाई अथवा उनको आदेशलाई कुरेर बसेका थिए । अंग्रेजहरूले यस युद्धका बारेमा अन्यथा रूपमा लेखेका भए पनि सिन्धुलीगढीबाट काठमाडाैँतर्फ हानिने भन्ने सपना यिनै वंशु गुरुङलगायतका वीरहरूले चकनाचुर पारिदिएका थिए । यो युद्धमा गोर्खाली सेनाले सुझबुझका साथ राम्रो चक्रब्युहको रचना गरेका थिए । मास्तिरबाट श्रीहर्ष पन्थ र खजान्ची वीरभद्र उपाध्याय ७०० सैनिकसहित हानिन बसेका थिए । पछाडिबाट आक्रमणका लागि वंशु गुरुङसहितको टोली तैनाथ नै थियो । विश्व विजयको सपना बोकेर हिँडेका ब्रिटिसहरूलाई यो हारले नराम्रो सबक सिकाएको थियो । इतिहासले सिन्धुलीगढीको उक्त युद्धलाई कहिले बिर्सिनेछैन ।
सिन्धुलीगढी, पौवागढी, सिउरेनी, ढुंग्रेवासको धरती वीर सरदार वंशु गुरुङलगायतको युद्धकौशलको अझै गुणगान गाउँदै छन् । हाम्रो देश नेपालले इतिहासका कालखण्डहरूमा विभिन्न युद्ध लडेको छ । युद्धकालको नेपालको इतिहास पनि अंग्रेजहरूले नै सुरुवातमा लेखेका हुनाले, यो युद्ध जस्मा तीनको हार भएको थियो ।
यसलाई त्यति महत्वका साथ नलेखेको भान हुन्छ । नेपाली इतिहासविद् महेशचन्द्र रेग्मीलगायतले भने यसका बारेमा लेखेका छन् । हुन त यो धेरै वर्ष पहिलेको कुरो हो, तर पनि आजका पुस्ताले यस्ता वीर सपूतहरूको विशिष्ट योगदानले गर्दा हाम्रो धरती कसैको उपनिवेश नबनेको तथ्य राम्ररी बुझ्न सक्नुपर्छ ।


No comments