चिसाेकाे कारण अमेरिका मा सात काे मृत्यु
सिन्धुली माघ १७गते
अमेरिकामा चिसोका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ । ‘पोलार भोर्टेक्स’ नामक ध्रुवीय चक्रवातका कारण अहिलेसम्म कम्तीमा ७ जनाको ज्यान गएको पुष्टि भएको हो । चिसोले करोडौं मानिस प्रभावित भएका छन् । चिसोले अमेरिकाको मध्यपश्चिमी भेग बढी प्रभावित भएको छ । विस्कन्सिन, मिसिगन राज्यहरुका साथै सामान्यतया गर्मी क्षेत्र मानिने आलाबामा र मिसिसिपीका दक्षिणी भेगमा पनि आपतकालीन अवस्था घोषणा गरिएको छ । उत्तरी डाकोटाको तापक्रम माइनस ३७ र सिकागोको तापक्रम माइनस ३० डिग्री सेल्सियसमा झरेको छ । सिकागोका केही ठाउँमा संसारकै सबैभन्दा चिसो मानिने अण्टार्कटिका भन्दा पनि बढी जाडो महसुस गरिएको छ । अमेरिकी मौसम पूर्वानुमान केन्द्रले केही राज्यमा आजबाट पुनः हिमपात हुने प्रक्षेपण गरेको छ । विस्कन्सिन राज्यमा दुई फिटसम्म बाक्लो हिउँ पर्ने अनुमान गरिएको छ । सरकारी अधिकारीहरुले सर्वसाधारणलाई बाहिर निस्कदा गहिरो सास नलिन र सकेसम्म कम बोल्न सुझाव दिएका छन् । (एजेन्सी)



No comments