दिउँसै खसी चाेरि गर्ने दुई पक्राउ
सिन्धुली फागुन २७:
सुनसरीको तरहरा नजिकैको चारकोशे जंगलमा स्थानीय बासिन्दाले चराउन छाडेका खसी टेम्पोमा हालेर लैजाँदै गर्दा सोमबार दिउँसो बाटैमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१५ बगरकोट बस्ने २१ वर्षीय अर्जुन बराइली र धरान ५ तल्लो देउरालीको किसान चोकका बबिन शंकर छन् ।
प्रहरीले बराइली र शंकरले खसी चोर्न प्रयोग गरेको को२ह २२७ नम्बरको टेम्पो पनि नियन्त्रणमा लिएको छ । इटहरीस्थित हाँसपोसा सामुदायिक वन तरहराका वन हेरालु होमबहादुर निरौलाका अनुसार धरानबाट तीव्र गतिमा आएको टेम्पो जंगलतिर गएको थियो । केही छिनमा खसीबाख्रा चरिरहेको स्थानमा रोकिएर दुई जना उत्रेका र उनीहरूले खसीलाई टेम्पोमा हाल्ने प्रयास गरेका थिए । उनले भने, ‘उनीहरूले लखेटेको एउटा खसी भाग्दै मतिरै आएपछि चोरहरूले मलाई देखेर टेम्पोमा अरू खसी लिएर राजमार्गमा निस्केको देखें ।
तत्कालै प्रहरीलाई जानकारी दिएपछि बाटैमा उनीहरू पक्राउ परेका हुन् ।’ प्रहरीका अनुसार टेम्पोमा रहेका खसी धरानको पानमाराबाट ल्याएका थिए । तरहरा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक कुलबहादुर खत्रीका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा पठाइएको छ ।




No comments