मुख्य समाचार

नयाँ पेट्रोल पम्प खोल्न ९३९अाेटा ले आवेदन दिए पम्प खोल्न के के मापदण्ड चाहिन्छ हेर्नुस्

सिन्धुली असार १७गते 
नयाँ पेट्रोलपम्प सञ्चालन गर्न देशभरबाट ९ सय ३९ आवेदन परेको छ । आयल निगमले १७ वैशाखमा सूचना गरी खुला गरेको नयाँ पम्पको लाइसेन्स १३ असारमा सकिएको छ । 



आयल निगमले नयाँ राजमार्ग, पहाडी क्षेत्र र स्थानीय तहलाई लक्षित गरी पम्पको लाइसेन्स खुला गरेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । ‘अब प्राप्त आवेदनको नयाँ मापदण्डअनुसार स्थलगत अध्ययन गरी पम्प सञ्चालनका लागि स्वीकृति दिने, नदिने विषयमा निर्णय गर्छौँ,’ उनले भने ।


 आयल निगममा नयाँ कार्यकारी प्रमुख आएपछि पम्पको लाइसेन्स खुला गर्ने पुरानो प्रवृत्ति हो । यसपटकदेखि प्रत्येक ३ वर्षमा पम्पको लाइसेन्स खुलाउने मापदण्ड बनाइएको छ । जसले गर्दा पम्पको लाइसेन्स स्वीकृति गर्दा मोटो रकम ‘सलामी’ लिने विकृतिमा कमी आउने अपेक्षा गरिएको छ ।  



पम्प काे  लाइसेन्स कसरी पाउने  



काठमाडौं र ललितपुरमा १ रोपनी आठ आना, बजार क्षेत्रमा चार कट्ठा, पहाडी क्षेत्रको राजमार्गमा आठ कट्ठा र पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा १० कट्ठा क्षेत्रफलमा आवश्यक मापदण्ड छ । त्यस्तै, दुई पम्पबीचको दूरी कम्तीमा ३ सय मिटर हुनुपर्नेछ । यो मापदण्डका आधारमा नयाँ पम्पका लागि लाइसेन्स माग्ने आवेदकको पालैपालो स्थलगत निरीक्षण केही समयभित्रै सुरु हुने आयल निगमले जनाएको छ । 


एक इन्जिनियरसहितको दुई सदस्यीय टोलीले मापदण्डको क्षेत्र रहे, नरहेको हेरेर सात दिनभित्र प्रतिवेदन दिनेछन् । लाइसेन्स दिन ठीक भएको देखिए प्रतिवेदन आएको १५ दिनभित्र पम्प सञ्चालकलाई जानकारी दिइन्छ । निगमबाट पम्प सञ्चालनको अनुमति पाएपछि सञ्चालकले ९० दिनभित्र स्थानीय तहको सिफारिसपत्र, कम्पनी दर्ताको प्रमाणपत्र, ट्राफिक वा प्रहरी कार्यालयको सिफारिसपत्र, विद्युत् प्राधिकरणको सिफारिस, स्वच्छ कारोबार गर्ने प्रतिबद्धतापत्र पेस गर्नुपर्छ । 



सबै कागजात बुझाएको ३० दिनभित्र धरौटीबापतको रकम (महानगर, उपमहागर र ठूला राजामार्ग क्षेत्रमा ८ लाख, नगरपालिकाभित्र ५ लाख, गाउँपालिकाभित्र ३ लाख र विकट हिमाली तथा पहाडी जिल्लामा दुई लाख) निगमको खातामा जम्मा गरिदिनुपर्छ । नमुना पम्प खोल्न चाहेको भए धरौटीबापत १० लाख रुपैयाँ बुझाउनुपर्छ । धरौटी रकम जम्मा भएको सात दिनभित्र निगमले पम्प सञ्चालक नियुक्त गरेको आशयपत्र दिन्छ । 



आशयपत्र पाएको एक वर्षभित्र तोकिएको पूर्वाधार तयार गरेर तेल वितरणका लागि पम्प ठिक्क पारेर निगमलाई जानकारी दिनुपर्छ । त्यसपछि निगमको तीन सदस्यीय उच्चस्तरीय टोलीले पूर्वाधारको अन्तिम निरीक्षण गर्नेछ । उक्त निरीक्षणमा सबै पूर्वाधार ठीक देखिए ९० दिनभित्र तेल खरिदका लागि सम्पर्क राख्न पम्प सञ्चालकलाई निगमले पत्राचार गर्नेछ ।

No comments