जन्ती बस मा करेन्ट लागेर मृत्यु हुने काे परिवार लाई जनहि पाँच लाख क्षतिपूर्ति दिने
सिन्धुली माघ १५गते
सरकारले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया, बल्टियामा जन्तीबसमा करेन्ट लागेर निधन भएका नागरिकका परिवारलाई जनही रु पाँच लाख क्षतिपूर्ति दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सोमबार मन्त्रिस्तरीय निर्णय गरी मृतकका परिवारलाई क्षतिपूर्तिवापत उक्त रकम दिन लागिएको हो । यस्तै, मन्त्रालयले घाइते भएका सबैको उपचार खर्च व्योहोर्ने निर्णय पनि गरेको छ । बसमा करेन्ट लागेर घाइते भएका कुल २१ मध्ये १९ जना उपचारपछि घर फर्किसकेका छन् । बाँकी रहेका दुईजनामध्ये फुलकुमारी कुँवरको जनकपुर अञ्चल अस्पताल र पवन परियारको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । क्षतिपूर्ति रकम मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणमार्फत् उपलब्ध गराउने छ । प्राधिकरणले उक्त दुर्घटना हुनुमा आफ्नो तर्फबाट कुनैपनि लापरबाही नरहेको र नगरेको यसअघि नै प्रस्ट पारिसकेको छ । प्राधिकरणका सखुवा शाखा प्रमुख राजकुमार रमनले बसको छतमा राखिएको टिनको ट्यांका ११ केभी प्रसारणलाइनको नांगो तारमा छुँदा करेन्ट प्रवाह भएको बताए । त्यस स्थानमा प्रसारणको तार लत्रिएको गुनासो यसअघि कहीँबाट नआएको पनि उनले स्पस्ट पारे । सबैला नगरपालिकाले भने प्राधिकरणको लापरबाहीले घटना भएको आरोप लगाएको छ । कोठिया, बल्टियाबाट जन्ती लिएर सिन्धुली फर्कंदै गरको बसमा यही माघ ११ गते शुक्रबार साँझ करेन्ट प्रवाह हुँदा ६ जनाको मृत्यु भएको थियो । मृतक र घाइते परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सांसद गणेश पहाडी, पूर्वसभासद विषमलाल अधिकारी र कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले पहल गरेका थिए । रासस



No comments