अब नेपाल काे आफ्नै भु उपग्रह नेपाली बैज्ञानिक ले तयार पारे
सिन्धुली फागुन ४गते
नेपालको पहिलो भू–उपग्रह तयार भएको छ । नेपाली–स्याट–१ नाम दिइएको भू–उपग्रह तयार भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)का उपकुलपति सुनिलबाबु श्रेष्ठले जानकारी दिए । शुक्रबार जापानस्थित क्यूसू इन्सिटिच्यूट आफ टेक्नोलोजी (क्यूटेक) विश्वविद्यालयमा पत्रकार सम्मेलन गर्दै भू–उपग्रह निर्माण कार्य सम्पन्न भएको जानकारी दिइएको हो। जापानमा रहेका उपकुलपति श्रेष्ठले भने,‘स्याटालाइट निर्माण कार्य सम्पन्न भएको छ। यो हाम्रो लागि ऐतिहासिक दिन हो। ’ यस्तै, शुक्रबार नै क्यूटेकका प्रेसिडेन्ड यूजी ओईएले नास्टका उपकुलपति श्रेष्ठलाई भू–उपग्रहको प्रतिमा हस्तान्तरण गर्दै नेपाललाई बधाई दिए।‘बर्डस’कार्यक्रम अन्तर्गत नेपाल सरकारको तर्फबाट नास्टले भू–उपग्रह निर्माणका लागि जापानको क्यूटेक विश्वविद्यालयसँग सहकार्य गरेको थियो।
उपग्रह निर्माणका लागि नेपालको तर्फबाट इलेक्ट्रिकल र कम्युनिकसेन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधी गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के खटिएका थिए। २०७४ असोज २८ गते अर्थमन्त्रीस्तरीय निर्णयबाट क्यूटेकसँग समझदारी भएपछि उपग्रह निर्माण प्रारम्भ भएको जापानमै रहेका नास्टका वैज्ञानिक हरिराम श्रेष्ठले बताए। यसका लागि एक करोड ५० लाख जापानी यान खर्च भएको उनले बताए। यसैबीच, आगामी अप्रिल १७ तारिख अर्थात् वैशाख ४ गते उपग्रह अन्तरीक्षमा प्रक्षेपण गरिने तालिका सर्वाजनिक गरिएको छ। नेपालसँगै श्रीलंकाको रावना–१ र जापानको उगिसू भू–उपग्रह पनि त्यसैदिन प्रक्षेपण गर्ने तालिका रहेको नास्टका प्रविधि विभागका प्रमुख डा.रविन्द्र ढकालले जानकारी दिए। गत अगस्टमा उपग्रहको इन्जिनियरिङ मोड्यूल तयार भएर डिसेम्बरमा वातवरणीय परीक्षण सम्पन्न भएको थियो।  भू–उपग्रहसँगै तस्बिर खिचाउँदै उपकुलपति श्रेष्ठ र नेपाली वैज्ञानिकहरु।
नेपाल र नास्टको लोगो अंकित स्टिकर टाँसिएको यो भू–उपग्रह सोमबार जापानको अन्तरिक्ष संस्था ज्याक्सालाई हस्तान्तरण गर्ने कार्यतालिका रहेको उपकुलपति श्रेष्ठले जानकारी दिए। प्रक्षेपणको जिम्मेवारी अमेरिकी स्पेस कम्पनी अर्बिटल ए टीकेले लिएको छ। कम्पनीको सिग्नस रकेटले स्याटेलाइट उडाउने छ। उपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेश्नल स्पेस स्टेसनमा(आईएसएस)मा रहने छन्।
स्पेस स्टेसनमा रहेका अन्तरिक्षयात्रीहरुले पुन: स्याटालाइटको परीक्षण गर्नेछन्। मेको तेस्रो सातामा स्पेस स्टेसनबाट भू–उपग्रहलाई पृथ्वीको कक्षमा छाडिनेछ। त्यसको तीन दिनदेखि तथ्यांकहरु दिन सुरु गर्ने नास्टले जनाएको छ। नेपालले निर्माण गरेको भू–उपग्रह जस्तै देखिने कृत्रिम भू–उपग्रह हस्तान्तरण गर्दै क्यूटेकका प्रमुख यूजी ओइए। तस्बिर सौजन्य : हरिराम श्रेष्ठ। पृथ्वीको भूमध्ये रेखाबाट ९० डिग्रीको कोण भएर करिब ४ सय किलोमिटर माथि रहने यो उपग्रह नेपालको आकाशमा दैनिक ५/१० मिनेटसम्म रहने ढकालको भनाइ छ।
स्याटालाइटमा ४३७ मेघाहर्जको यूएचएफ ब्यान्ड प्रयोग गरिएको छ। ‘ग्राउण्ड स्टेशन’मा भू–उपग्रहले पठाएको तथ्यांकहरुको विश्लेषण र संकलन गरिनेछ। ग्राउण्ड स्टेशन निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने नास्टले जनाएको छ। नास्टका मेकानिकल इन्जिनियर रोशन पाण्डेले जापानमा गएर ग्राउण्ड स्टेशन निर्माण र तथ्यांक संकलन गर्नेबारे तालिम लिएर फर्किसकेका छन्।



No comments