तातोपानी नाका जेठ बाट खुलदै
सिन्धुली जेठ १२गते
गोरखा भूकम्प’ पछि खण्डहर बनेको तातोपानी नाकामा पुनः चहलपहल शुरु भएको छ । भत्किएका घर तथा आवासमा रङ लगाउने, मर्मत सम्भार गर्ने बढेका छन् भने मान्छे हिँड्न समेत गाह्रो पर्ने अरनिको राजमार्गले नयाँ जीवन पाउँदैछ । नेपाल र चीन जोड्ने मितेरी पुलको ढलानका लागि चिनियाँ कामदार दिनरात नभनी काम गरिरहेका छन् ।
गत फागुनको दोस्रो सातादेखि सुरु भएको पुल निर्माण तीन महिना पुग्दै गर्दा सम्पन्न हुने चरणमा पुगेको छ । सम्भवतः यही जेठ १७ गते २०७२ साल वैशाख १२ गतेदेखि बन्द भएको तातोपानी नाका पुनः सञ्चालनमा आउँदैछ । विगत केही दिनदेखिको काम हेर्दा लाग्छ चार वर्षसम्म ओइलाएको तातोपानी नाका अब नयाँ स्वरुपमा स्थापित हुँदैछ ।
भूकम्पपछि आएको पहिरोले क्षतिग्रस्त बनेको लिपिङ र तातोपानी क्षेत्रका सडक पुनःनिर्माण भइसकेको छ । भत्किएका केही घर बाहेकका संरचना तयारी अवस्थामा पुगेका छन् । होटल, गेस्टहाउसहरुमा पनि नयाँ मान्छे देखिन थालेका छन् । थप केही स्थानमा सडक पुनःनिर्माणको काम भइरहेको छ । नाका खुल्दैछ भन्ने सुनेका स्थानीयवासी असाध्यै खुसी भएका छन् । उनीहरुको अनुहारमा देखिने उत्साह साँच्चै लोभलाग्दो छ ।
वर्षौँ नाका नखुल्ने भयो भनेर पलायन भएकाहरु फर्किएर आएका छन् । नेपाल सरकारको पटकपटकको आग्रह पछि चीन रणनीतिक महत्वको नाका खोल्न तयार भएको हो । नाका खुल्ने पहिलो दिन साङ्केतिकरूपमा तिब्बतको खासाबाट ऊन बोकेका ६ ट्रक नेपाल प्रवेश गर्ने छन् । ती मालबाहक ट्रकको नेपाली व्यवसायीले स्वागत गर्नेछन् । मितेरी पुल नजिकै भन्सार र अध्यागमन कार्यालय स्थापना भइसकेको छ । केही समयपछि ती कार्यालय तातोपानी नाका नजिकै स्थापना भएको सुक्खा बन्दरगाहमा सर्नेछन् ।
सीमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तैनाथ भइसकेको छ । चार वर्षदेखि नाकाको भन्सार कार्यालय कुरेर बस्नुभएका धेरैले साइँला भनेर चिन्ने तिलकबहादुर मगर अरुभन्दा बढी खुसी हुनुहुन्छ । भन्नुहुन्छ, “भूकम्पपछि तातोपानी बजार क्षेत्रमा कोही मान्छे नै देखिँदैन थिए । असाध्यै कष्ट थियो । मानिसहरु पीडामा थिए । विस्तारै चोट लागेको घाउमा मलमपट्टी भयो । यतिखेर पुनःनाका खुल्न लागेको छ ।” कार्यालय सहयोगीका रूपमा रहनुभएका मगर पहिलेको जस्तै नाका व्यस्त होला र धेरैले लाभ पाउलान् भन्ने अपेक्षामा हुनुहुन्छ । भोटेकोशी गाँउपालिका–२ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठ नाका बन्द हुँदा स्थानीयबासीले धेरै सास्ती भोग्नुपरेको स्मरण गर्नुहुन्छ ।
“व्यस्त बजार एकाएक खण्डहर बन्दा कसको मन नपोल्ला र ? हामीलाई त्यस्तै भयो । हजारौँको रोजगारी खोसियो, देशले ठूलो राजश्व गुमायो । व्यापार व्यवसाय चौपट भयो”, वडाध्यक्ष श्रेष्ठ भन्नुहुन्छ, “तातोपानीलाई सुरक्षित र मर्यादित बनाउन जनप्रतिनिधिको हैसियतले जे जे गर्नुपर्छ सबै गर्न म तयार छु । ” नाका बन्द भएपछि धेरै व्यवसायी पलायन भए ।
दैनिक चल्ने एक हजार बढी कन्टेनर अन्यत्रै जान वाध्य भए । होटल व्यवसाय चौपट भयो । सीमा क्षेत्रमा नेपाल र चीन सम्बन्धमा आघात पर्ने कुनै पनि खालको गतिविधिलाई पूर्ण रुपमा नियन्त्रण गर्ने योजनामा लागेको छ भोटेकोशी गाउँपालिका । गाउँपालिका प्रमुख राजकुमार पौडेल भन्नुहुन्छ, “हामीले स्थानीयवासीलाई नियमितरूपमा प्रशिक्षित गरेका छौँ । लामो प्रयासपछि खुल्न लागेको नाकालाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउनुपर्छ ।





No comments