कल बाईपास गर्ने भारतीय नागरिक पक्राउ
सिन्धुली असार १९गते:
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध कल बाइपासमा संलग्न भारतीय नागरिकलाई पक्राउ गरेको छ । सरकारी निकायबाट अनुमति नलिई भ्वाइस ओभर इन्टरनेट प्रोटोकल अर्थात् भीओआईपीमार्फत कल नेपाल भित्र्याएर अवैध आर्जन गर्ने कार्यमा संलग्न जफर खान पक्राउ परेका हुन् ।
ब्युरोले खानमाथि दूरसञ्चार ऐन २०५३ अन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । काठमाडौं–३२, शुभकामना मार्गस्थित एक घरबाट ब्युरोले ३२ पोर्टको ३२ वटा एन्टेना भएको गेटवे, राउटर र एनसेल कम्पनीको १ सय २० थान सिमलगायत सामग्री बरामद गरेको छ ।
ब्युरोले हालसम्म भीओआईपीविरुद्ध एक सय ३ स्थानमा कारबाही गरी एक सय २६ नेपाली र ३४ विदेशीलाई पक्राउ गरिसकेको छ । ब्युरोका अनुसार अवैध कल बाइपासमा प्रयोग भएका २२ हजार ८ सय ३५ सिम बरामद भएका छन् ।


No comments